२०८३ वैशाख ६ गते , आइतबार info@nbnl.gov.np ०१-५३२२१९२
Nepal Ban Nigam Limited नेपाल बन निगम लिमिटेड नेपाल सरकारको पूर्ण स्वामित्व भएको

नेपालको कुल भू-भागको झण्डै आधा हिस्सा ओगटेको वन सम्पदाले राष्ट्रिय अर्थतन्त्रमा योगदानका साथै स्थानीय जनसमुदायको जीविकोपार्जनमा समेत ठूलो टेवा पुर्‍याएको । नेपालको आर्थिक विकासको मेरुदण्डको रूपमा रहेका कृषि, जलस्रोत, पर्यटन तथा उद्योग क्षेत्रका लागि समेत वन क्षेत्र आधारस्तम्भको रूपमा रहेको छ । यसको दिगो संरक्षण, व्यवस्थापन र सदुपयोगका लागि नेपाल सरकारले विभिन्न नीतिगत, कानुनी, संस्थागत / संरचनागत व्यवस्था गरेको छ । जसमध्ये नेपाल वन निगम लिमिटेड नेपालको दोस्रो पुरानो सार्वजनिक संस्थानका रूपमा नेपाल सरकारको पूर्ण स्वामित्व रहेको वन क्षेत्रमा कार्यरत एक सार्वजनिक संस्थान हो

सर्वसाधारण जनतालाई आधारभूत वस्तु तथा सेवा उत्पादन गरी सर्वसुलभ र सुपथ मूल्यमा व्यावसायिक सिद्धान्त अवलम्बन गरी बिक्री वितरण गर्ने उद्देश्यले सार्वजनिक संस्थानहरू स्थापना गरिएको हुन्छ । प्रतिकूल परिस्थितिमा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति गर्न सार्वजनिक संस्थानको आवश्यकता र महत्व रहि नै रहेको छ ।

यो संस्थान वि.सं. २०११ सालमा सःमिल परियोजनाका रूपमा हेटौंडामा स्थापित भइ वि.सं. २०१७ सालदेखि टिम्बर कर्पोरेशन अफ नेपाल लि. (टि.सि.एन.) कम्पनीका रूपमा सञ्चालन हुदै आएकोमा पछिल्लो समय वि.सं. २०७६ मा नेपाल वन निगम लिमिटेडका रूपमा विधिवत् रूपान्तरण भएको छ ।

तत्कालीन समयमा यो संस्थानमा ३,००० स्थायी कर्मचारी र १०,००० अस्थायी कर्मचारीहरूबाट कार्य सञ्चालन हुने गरेकोमा हाल कर्मचारीहरूको संख्या न्यून भए तापनि सरल र सुलभ रूपमा सेवा र वस्तु जनसमुदायलाई उपलब्ध गराउँदै यस कम्पनी नाफा उन्मुख हुँदै गएको छ । सार्वजनिक संस्थानहरू क्रमशः ह्रासोन्मुख स्थितिमा रहेका तथा निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नुपर्ने विद्यमान समयमा वन क्षेत्रको इतिहासमा ७० वर्षभन्दा लामो इतिहास बोकेको नेपाल वन निगम लि. ले समय सापेक्ष रहेर सान्दर्भिकता राखिरहनु आफैंमा गौरव र महत्वपूर्ण विषय भएको छ ।

लामो अनुभव भएका कर्मचारी, प्रदेश देखि केन्द्रसम्मको सांगठनिक संरचना र कार्य सञ्चालनका लागि भौतिक पूर्वाधार र स्रोत-साधन, संस्थाप्रतिको नागरिक विश्वासका साथै नेपाल सरकार अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, उद्योग विभाग, वन तथा भू-संरक्षण विभाग, राष्ट्रिय वाणिज्य बैंक र नेपाल विद्युत प्राधिकरण जस्ता निकायहरू शेयर होल्डरका रूपमा रहनु, अधिकृत पूँजी ५० करोड र “क” श्रेणीको संस्थाका रूपमा निरन्तरता रहि रहनु निगमका सवल पक्ष हुन् ।

उद्देश्यहरू

नेपाल वन निगम लिमिटेडको प्रबन्ध-पत्र नियमावलीमा उल्लेख भएका उद्देश्यहरू देहाय अनुसार छन्:

·       काठजन्य पैदावारको कटान, संकलन गर्ने ।

·       काठजन्य पैदावारको सर्वसुलभ आपूर्तिको व्यवस्था मिलाउने ।

·       काठजन्य पैदावारको प्रशोधन एवं गुणस्तर वृद्धि तथा अभिवृद्धि गर्न काठजन्य पैदावारमा आधारित उद्योगहरूको स्थापना, प्रवर्द्धन, संचालन र विकास गर्ने ।

·       कम्पनीको कार्यसँग सम्बन्धित उत्पादन, सेवा र व्यापार अभिवृद्धिका लागि आवश्यक अध्ययन र अनुसन्धान गर्ने ।

·       वृक्षारोपण र सोको संरक्षण एवं व्यवस्थापन गर्ने ।

·       सागरनाथ वन विकास परियोजना र रतुवामाइ वृक्षारोपण आयोजना व्यवस्थापन गर्ने ।

·       हरियाली प्रवर्द्धन, काठजन्य पैदावारको दिगो उत्पादन, प्रशोधन एवं मूल्य अभिवृद्धिमार्फत रोजगारीका अवसरहरू सिर्जना, आर्थिक विकास एवं गरिबी न्यूनीकरणमा योगदान पुर्‍याउने ।

·       विद्युत विकास र विस्तारका लागि आवश्यक काठजन्य विद्युतिय पोल तथा सामग्री उत्पादन तथा प्रशोधन गरी आपूर्ति गर्ने ।

·       तोकिएको अन्य वन क्षेत्रको व्यवस्थापन गर्ने ।

कार्यक्षेत्र

कर्पोरेशनले तराई, भित्री मधेश तथा पहाडी क्षेत्रका ३५ जिल्लाहरू, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, महोत्तरी, धनुषा, सिन्धुली, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, तनहुँ, कास्की, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, काठमाडौं, ललितपुर र भक्तपुरमा कार्यक्षेत्र रहेको छ ।

श्री मन बहादुर खड्का प्रमुख कार्यकारी अधिकृत ०१ - ५३२२१९२ ceo@nbnl.gov.np
view details
अनिलराज पाण्डेय प्रवक्ता ०१ - ५३२१५९० pandeyanil200@gmail.com
view details